अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी


धरान – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी हुनु भएको छ ।

धरानको जारी मतगणनामा ३२८५ मत गन्न बाँकी छँदै साम्पाङ विजयी भएका हुन् । उहाँले अहिलेसम्मको गणनामा मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार किशोर राई भन्दा ४२८१ मतले अग्रता लिइसकेकोले उहाँ विजयी भएका हुन् । अब गणना हुन बाँकी सबै मत काँग्रेस उम्मेदवारले पाए पनि साम्पाङको विजय रोकिने छैन ।

धरानमा खसेको ६२८९८ मतमध्ये ५९६१३ मतको गणना भइसकेको छ । जसमा साम्पाङले १९५९७ मत प्राप्त गरेका छन् भने राईले १५३१६ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२३४८ मत मात्र प्राप्त गर्नु भएको छ ।

धरानका २० वडामध्ये १९ वडाको गणना भइसकेको छ भने अहिले १७ नम्बर वडाको गणना भइहरेको छ । १७ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मतले अगाडि रहेकोले धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघा निर्वाचित हुने निश्चित भएको छ ।