सर्लाही -सर्लाहीको बरहथवा नगरपालिका नगर प्रमुखमा नेकपा एमालेकी नेतृ कल्पना कुमारी कटुवाल विजयी हुनुभएको छ ।
कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले १२ हजार २७३ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत मात्रै पाउनुभयो ।
कटुवाल सर्लाहीमा पहिलो महिला नगरप्रमुख बन्नुभयो । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको छ ।
यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ । एमालेका रामबाबु प्रसाद साह ९ हजार ९०१ मत ल्याएर उपप्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत मात्रै ल्याएकी छन् ।
निवर्तमान नगर उपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो बनिन् । माझीले ६ हजार ३१४ मत पाइन् ।
सर्लाहीका २० पालिकामध्ये नेपाली कांग्रेसले १२ पालिका जितेको छ । माओवादी केन्द्रले ४, जसपाले २ तथा नेकपा एमाले र लोसपाले १–१ पालिका जितेका छन् ।





प्रतिक्रिया