बिर्तामोड – बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा पदभार ग्रहण गरेका छन् ।
नगरपालिकाको कार्यालयमा आयोजना गरिएको शपथग्रहण तथा पदबहाली कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको भएको हो ।
यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनीयताको सपथ लिनु भएको थियो । शपथग्रहणपछि नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौला सहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गर्नु भएको छ । निम्न वर्गका नागरिकको पहिचान गरि निशुल्क स्वास्थ्य वीमा गर्ने र ५ वर्षभित्रमा नगरमा प्रयाप्त सिँचाईको व्यवस्था गर्ने निर्णय गरिएको बताउनु भयो । सपथग्रहण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले कृषकले उत्पादन गरेका कृषि सामाग्रीहरुको बजार व्यवस्थापन र प्रशोधनसंगै उद्यमशिलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उत्पादनका लागि सिँचाईको व्यवस्था गरिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा इञ्चार्ज अग्नि खरेल, संविधानसभा सदस्य मनकुमार गौतम, नरेश खरेल, अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्वसदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यापानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।







प्रतिक्रिया