बर्दिया – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा प्रमुख लगायत अन्य पदको उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।
१८ जनामध्ये केहीलाई स्पष्टीकरण सोधिएको छ । केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधरण सदस्य नरहने गरी कारबाही गरिएको एमाले जिल्ला कमिटीले जनाएको छ ।
गुलरिया नगरका सहइन्चार्ज राम बहादुर रावललाई पार्टीको साधरण सदस्य नरहने गरी निस्कासन गरिएको एमालेले जनाएको छ । उहाँ २०७४ को स्थानीय निर्वाचनमा गुलरिया-४ बाट वडाध्यक्ष हुनु भएको थियो ।
यसैगरी नगर इन्चार्ज धनेश कुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ ।
यस्तै नगर उपसभापति पुष्पा वली, जिल्ला कमिटी सदस्य हिरा बहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट निस्कासन गरिएको एमालेले जनाएको छ ।
जिल्ला कमिटीका सल्लाहकार शंकर घिमिरे लगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको पनि बताइएको छ। निलम्बित नगर इन्चार्ज यादवले भने झुठो आरोप लगाइ कारबाही गरिएका साथीहरुलाई एक पटक सोधपुछ नगरी कारबाही गरिएकोमा आपत्ति जनाउँदै त्यसविरुद्ध सशक्त विरोध गर्ने बताएका छन् ।
बिना प्रमाण कारबाही गर्नु न्यायोचित नभएको र पार्टीको विधान विपरीत भएकोले यसको उच्चस्तरीय छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीले कारबाही प्रक्रिया ठीक भएको भन्दै यो निर्णयबारे जिल्ला कार्यसमितिको बैठकले छलफल गरी अनुमोदन गर्ने जनाउनु भयो ।
गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा यसपटकको स्थानीय निर्वाचनमा नेकपा एमाले पराजित भएको थियो ।





प्रतिक्रिया