म्याग्दी – म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् ।
म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको कटानका कारण उच्च जोखिममा रहेको उत्तरी म्याग्दीको भुरुङ तातोपानी बस्ती संरक्षणका लागि अझैसम्म पनि काम सुरु नभएपछि स्थानीयवासी त्रसित बनेका हुन् ।
म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि पनि उच्च जोखिममा परेका स्थानीय व्यवसायी वीरेन्द्रमान शाक्यले बताउनुभयो ।
नदीको कटानका कारण स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । गत वर्ष भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको थियो । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।
बर्सात कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भए पनि बस्ती संरक्षणको काम भने अझै सुरु हुन नसकेको बताउनुभयो ।
बेनी –४ का निवर्तमान वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।







प्रतिक्रिया