अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोह्र वर्षदेखि अलपत्र राष्ट्रिय शहीद स्मारक

सोह्र वर्षदेखि अलपत्र राष्ट्रिय शहीद स्मारक


काठमाडौं – सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको काम १६ वर्षदेखि अलपत्र छ । विसं २०६२/६३ को जनआन्दोलन सफल भएसँगै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पूर्ण लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने शहीदको सम्झनामा स्मारक बनाउने निर्णय २०६४ जेठ ११ गते गरेको थियो ।

तीन वर्षमा विस्तृत परियोजना प्रस्ताव निर्माण गरी २०६७ मा काम सुरु भएको आयोजना २०७० मा सक्ने लक्ष्य राखिएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सुरु भएको काम अझै सम्पन्न भएको छैन । स्मारकको निर्माण घोषणा गरिएको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अहिलेसम्म भएका कामको समीक्षा गरी रोकिएको काम छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा सांसद कृष्ण राईले स्मारकमा सबै दल राजनीतिभन्दा माथि उठेर काम भए पनि निर्माण व्यवसायीका कारण काम समयमै नसकिएको बताउनुभयो । स्मारक निर्माणका काम अलपत्र रहँदा शहीद परिवारले सम्मान पाउन नसकेको अनुभव भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई दलभन्दा माथि उठेर साझा व्यक्तित्वका रुपमा काम गर्नुपर्ने बताउनुभयो । जनताले पनि निर्वाचित जनप्रतिनिधिले खराब काम गर्लान् कि भनी निरन्तर खबरदारी गरिरहनुपर्ने सांसद राईको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले स्मारकको निर्माणका काममा समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपक रिसालले शहीदकै योगदानले स्थानीय तहको संरचना तयार भई स्थानीय सरकार पनि बनेको उल्लेख गर्दै शहीदको सपना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।