अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ


काठमाडौं – सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।

सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सजाय उच्च अदालतले तोकेकै कायम गरेपछि कोइरालालाई पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताउनु भयो ।

बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । जबरा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइ दिएका हुन् । उनीहरुले रञ्जन ८ वर्ष ६ महिना मात्रै जेल बस्दा सजायको ‘मक्सद पुरा हुने’ ठहर्‍याएका थिए । सो फैसलापछि कोइराला ०७७  साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए  ।

काठमाडौंको इचंगुनारायण घर भएका रञ्जनले सशस्त्रको डिआईजी हुँदा पत्नी गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले ७ वैशाख ०७१ मा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला न्यायाधीश महम्मद जुनैद अदालतले गरेको सो फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर ०७२ मा सदर गरेको थियो ।