काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा राजनीतिक परिवर्तन संस्थागत भएपनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष गर्न नपाएको बताउनुभएको छ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ ‘गणतन्त्र स्थापना भएको करिब डेढ दशकको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष गर्न पाएका छैनन्।’
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तिमिल्सिनाले भन्नुभएको छ , ‘गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दल¸ नागरिक समाजका अगुवा एवम् आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु।
२०६२ ६३ को जनआन्दोलनको परिणाम स्वरूप जननिर्वाचित संविधानसभाद्वारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै जनताको शासन सुनिश्चित गरेको यस दिन शासकीय व्यवस्थाको परिवर्तन मात्र नभई मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि एउटा ऐतिहासिक दिन हो।’
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रूपमा जनतामा स्थापित गरेको उहाँको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
‘संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको शासन व्यवस्था हामीले अभ्यास गरिरहेका छौं,’ तिमिल्सिनाले भन्नुभएको छ ‘नेपालको संविधानले परिकल्पना गरेको जनताको प्रतिस्पर्धात्मक बहदुलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रको निर्माण गर्ने संकल्प सहितका विशेषता संविधानमा रहेका छन्।’
संविधानले परिकल्पना गरेका विषयहरूलाई कार्यान्वयन गर्न सकेमा मात्र संघीयता र गणतन्त्र बलियो हुने विश्वास अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभएके छ । ‘मुलुकले अंगीकार गरेको संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनको क्रममा हाल हामी दोस्रो निर्वाचनको क्रममा रहेका छौं, गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने संविधान बमोजिम संघ र प्रदेशको निर्वाचन पनि यसै वर्षभित्र सम्पन्न गर्नुपर्नेछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय तहमा नवनिर्वाचित प्रतिनिधिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उहाँहरुलाई संविधानको सफल कार्यन्वयन गर्दै मुलुक र जनताको हित केन्द्रित काम गर्न समेत म हार्दिक अपिल गर्दछु।’





प्रतिक्रिया