सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पालत निर्माण गरिने उहाँले बताउनुभयो । यस्तै सिकलसेल, एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने छ ।
ट्रमा सेन्टर
रुपेन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ । क्यान्सरको रोगको निदान गरी स्वदेशमा नै उपचार गर्नका लागि पेट स्क्यान मेसिन तथा साइकोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न रु ५० करोड रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने बजेटमा राखिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अङ्ग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्ने सक्षम प्रतिष्ठानको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया