काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारले ल्याएको बजेटले बजेटको नै मर्ममाथि प्रहार गरेको बताउनुभएको छ ।
मंगलबार सैद्धान्तिक छलफलमा बोल्दै उहाँले सरकारले आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै मात्रै देखिएको बताउनुभयो । ‘यसले बजेटको मर्म माथि नै प्रहार गरेको छ । यो गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो मात्रै देखियो,’ उहाँले भन्नुभयो ।
मुलुकको आर्थिक अवस्थालाई बेवास्ता गरेर बजेट सार्वजनिक गरिएको उहाँ बताउनुहुन्छ । ‘वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति ६ महिनाभन्दा धेरै आयात धान्न नसक्ने स्थितीमा छ,’ पौडेलले भन्नुभयो, ‘चालू खाता र शोधनान्तर खाता समेत घाटामा छ । तरलता अभाव कहालीलाग्दो अवस्थामा पुगेको छ ।’
यसका साथै, सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य समेत आधारहीन र असम्भव भएको पौडेलले बताउनुभयो । बजेट र नीति तथा कार्यक्रम हेर्दा आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक र सम्भाव्य हुनुपर्नेमा सरकारले क्षमताभन्दा बाहिर गएर लक्ष्य निर्धारण गरेको पौडेलको भनाइ छ । ‘यो सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धि आधारहीन र असम्भव देखिन्छ,’ पौडेलले भन्नुभयो, ‘अहिलेसम्म देशमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर भएको छैन ।’
प्रतिक्रिया