कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आज बिहान सम्पन्न भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् ।
चारजना महिला सदस्य निर्वाचित हुनुपर्नेमा आठजनाको उम्मेदवारी परेको थियो । त्यसमा एमालेका चारजना र गठबन्धनको तर्फबाट एकजना कांग्रेसका र तीनजना माओवादीका उम्मेदवार थिए ।
त्यस्तै दलित वा अल्पसङ्ख्यकतर्फ दुईजनका लागि चारजनाको उम्मेदवारी परेको थियो । एमालेका तर्फबाट दुईजना र गठबन्धन तर्फ माओवादी र कांग्रेसले १–१ जना उम्मेदवार तयार थिए ।
३२ जनाले मतदान गरेका थिए । एमाले र गठबन्धनका तर्फबाट गाउँसभा सदस्यहरू बराबर सदस्य रहे पनि निर्वाचन रोचक हुने आँकलन गरिएको थियो । यहाँ एमालेका १६ जना र माओवादी तथा कांग्रेसका पनि १६ जना मतदाता रहेका छन् ।
सबै उम्मेदवारको १६–१६ मत आउने र त्यसपछि गोला प्रथाबाट सदस्य टुंगो लाग्नसक्ने धेरैले अनुमान गरेका थिए । तर, निर्वाचनको परिणाम त्यस्तो आएन ।
एमालेका चारजना महिला सदस्यले १६ मत प्राप्त गर्दा दलित वा अल्पसङ्ख्यक तर्फ २ जनाले १७ मत प्राप्त गरे ।
यता गठबन्धनका उम्मेदवारहरुले महिलातर्फ १६ मत र दलित वा अल्पसङ्ख्यक तर्फ १५ मत पाउनुपर्ने देखिन्थ्यो । तर, महिलातर्फ ११ मत पाउँदा दलित वा अल्पसङ्ख्यक एकजनाले ११ र अर्को एक जनाले ९ मत प्राप्त गरे ।





प्रतिक्रिया