काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले चार महिनादेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा गरेको तालाबन्दी नेपाल कम्प्युनिष्ट पार्टी (क्रान्तिकारी) ले तोडेको छ ।
आज ताला तोडेर ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी गरिएको विज्ञप्ति टाँसिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँछौं ।’
विज्ञप्तिमा सत्तासिन पार्टीकै भ्रातृ संगठनका केही गलत स्वार्थ र मनसाय बोकेका विद्यार्थीहरूको झुण्डले ताला लगाएर विश्वविद्यालयलाई चार महिनाभन्दा अघिदेखि अनिर्णायकको बन्दी बनाइएको भन्दै राजनीतिक दल, तीनका भ्रातृ संगठन, बुद्धिजीवी वर्ग, विश्वविद्यालय प्रशासन र सरकार लाचार बनेको टिप्पणी गरिएको छ ।
नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको नेकपा क्रान्तिकारीको आरोप छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाउनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।
विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन माग गर्दै बन्द, हड्ताल भन्दा पनि वार्ता सम्वादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्नेमा नेकपा क्रान्तिकारीले जोड दिएको छ ।
प्रतिक्रिया