अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापाको प्रश्न : कुन स्रोतका आधारमा बजेटको आकार बढाइएको हो अर्थमन्त्री ज्यू ?

गगन थापाको प्रश्न : कुन स्रोतका आधारमा बजेटको आकार बढाइएको हो अर्थमन्त्री ज्यू ?


काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अर्थमन्त्रीलाई कुन स्रोतको आधारमा बजेटको आकार बढाइएको हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उहाँले करमा छुटेका कुरालाई समेत एक ठाउँमा नल्याई आएको बजेटले समस्या हुने बताउनुभयो । आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम राम्रो भए पनि बजेटका स्रोत कम भएको उहाँको भनाई थियो ।

‘बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ’, उहाँले भन्नुभयो, ‘तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।’

सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताउनुभयो । ‘सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्’, उहाँले भन्नुुभयो ‘प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ ।’

उहाँले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषिको आत्मनिर्भर बनाउने कुरा अत्यन्तै राम्रो छ, यसमा अर्थ मन्त्रालयले नै ध्यान दिएर काम गर्नुपर्छ ।’ उहाँले प्रदेश र स्थानीय तहको बजेट आउँदै भए पनि अहिलेसम्म त्यसबारे छलफल नभएको बताउनुभयो । बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।