मुगु – मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि अधिकांश विद्यालय बन्द भएका छन् ।
गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गरेको हो ।
विद्यार्थीहरू यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । विद्यार्थी यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको हो ।
केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको एक स्थानीयले बताए ।
१५ जेठदेखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किन्छन् । शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न पाटन जाने गर्छन् ।
प्रतिक्रिया