अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार औषधि किन्न पनि पुग्दैन: गंगा चौधरी

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार औषधि किन्न पनि पुग्दैन: गंगा चौधरी


काठमाडौँ – एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाउनु भएको हो।

जटिल रोगका बिरामीलाई दिइने पाँच हजार भत्ताले औषधि किन्न पनि नपुग्ने भन्दै उहाँले आफू सिकलसेल एनिमियाको रोगी रहेको दैनिक एक हजार रुपैयाँको औषधि खानेको गरेको जानकारी दिनु भयो। तर, गरीब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि पनि खान नसक्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, ‘तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरीब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?’

२५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको भन्दै उहाँले बाँकी ५२ जिल्लाका महिला विवाह अघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा नै जन्माउनु नपर्ने हो भन्दै प्रश्न गर्नु भयो । उहाँले भन्नुभयो, ‘५२ जिल्लाका दिदीबहिनीहरुले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् र ?, तिनीहरुले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरीब, विपन्न महिला छैनन् ?, विभेदकारी तपाईंहरुको समाजवाद यही हो र ?’