अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्डफ्लुका कारण प्रभावित किसानको राहत अन्योलमा

बर्डफ्लुका कारण प्रभावित किसानको राहत अन्योलमा


चितवन – गत माघदेखि देखा परेको बर्डफ्लुका कारण प्रभावित बनेका कृषकले राहत पाउने विषय अन्योलमा रहेको छ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका अनुसार बर्डफ्लुबाट क्षति व्यहोरेका जिल्लाका कृर्षकले रु.२६ करोड राहत पाउनुपर्ने हुन्छ । जिल्लामा चार महिनामा देखिएको बर्डफ्लुका कारण तीन लाख ५८ हजार ४११ वटा लेयर्स कुखुरा नष्ट गरिएको थियो । ब्रोइलर ६४६ वटा, कडकनाथ ८९६ वटा, हाँस ३५ वटा, बट्टाई आठ वटा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा नष्ट गरिएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३४ स्थानमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको विवरण सङ्कलनको काम भइरहेको भए पनि क्षतिपूर्तिका लागि कार्यविधि नबन्दा राहत पाउने÷नपाउने भन्ने विषय अन्योलमा रहेको उहाँले बताउनुभयो ।

राहतका लागि बजेट नहुनु र बर्डफ्लु नियन्त्रण नियमावली २०७८ जारी भए पनि प्रष्टसँग कति राहत दिने भन्ने उल्लेख नहुनुले कृषक समस्यामा परेको उहाँको भनाइ छ ।

सङ्क्रमण रोगमा बिमा आकर्षण नहुँदासमेत कृषकले ठूलो क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो । सरकारले राहतका लागि कुनै परिपत्र नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राहत दिनुपर्ने हो । तर स्पष्ट निर्देशन आएको छैन । हामीले सबै तयारी गरेका छौं ।” प्रदेश सरकार वा सङ्घीय सरकार कसले पीडित किसानलाई राहत दिने हो त्यो पनि अन्योलमा नै रहेको उहाँले बताउनुभयो ।

जिल्लामा पहिलो पटक विसं २०७८ माघ २८ गते पूर्वी चितवनको राप्तीस्थित अनिता पशुपक्षी तथा कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । पछिल्लो पटक वैशाख २४ गते भरतपुर १६ को बुद्धिमाया गुरुङको फार्ममा बर्डफ्लु देखिएको थियो ।