बिर्तामोड – बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ ।
आज सम्पन्न बिर्तामोडको कार्यपालिका बैठकले असार १ गतेदेखि लागू हुने गरी निर्णय गरेको हो ।
नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी आइतवार सार्वजनिक विदा दिने निर्णय बमोजिम कार्यान्वयन शुरु गरिएको थियो । सो विदाका सन्दर्भमा स्थानीय नगरबासी, शैक्षिक संस्थाको माग बमोजिम आइतवारको विदा नगर्ने निर्णय गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनु भयो।
यस्तै, कार्यपालिका बैठकले बिर्तामोड–३ मा बिर्ताबजार कृषि तथा सामुदायिक भवन निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाद्वारा निर्माण गरिएको टहरा भत्काएर नयाँ भवन निर्माणको लागि व्यवसायीलाई टहरा खाली गरिदिन आग्रह गरेको थियो ।
नगरपालिकाको आग्रह अनुसार व्यवसायीले वडा-३ का वडाध्यक्षसहित जनप्रतिनिधिहरुसँग छलफल गरेर २६ बिहीवारसम्म टहरा खाली गरिदिने प्रतिवद्धता जनाएका थिए ।
कार्यपालिकाको निर्णय बमोजिम जेठ २७ देखि टहरा भत्काउने र नयाँ भवन निर्माण शुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने बताइएको छ ।
टहरा खाली गरेपछि व्यवसायीलाई तत्कालका लागि व्यवस्थान गर्न महेन्द्र माविको बाहिरको कम्पाउण्डको भाग प्रयोग गर्नका लागि विधालयसँग आग्रह गर्ने निर्णय गरिएको छ । टहरा निर्माण पश्चात व्यवसायीले स्वतः विधालयको ठाउँ खाली गर्नुपर्ने छ ।
सोही बैठकले ३४ वडा भौतिक पूर्वाधार सम्बन्धी योजना प्रदेशका मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया