पोखरा – यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ ।
मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो ।
पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’
कार्यालयको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ ।
सरकारले एक महिना समयावधि तोकेर सूचना जारी गरेपछि अहिले कार्यालय परिसरमा सवारी साधनको चाप लागेको छ । ‘साउन १ गतेबाट सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नत्र कारवाही गर्ने भनिएको छ । तर, गण्डकीमा सम्भव छैन,’ कार्यालय प्रमुख डिल्लीराम रिज्यालले भन्नुभयो, ‘अहिले दर्ता हुने नयाँमा मात्रै दर्ता गरिरहेका छौं ।’
हेर्नुहोस् विज्ञप्ति








प्रतिक्रिया