अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा फोहोरको समस्या विकराल भइरहँदा वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको नयाँ मोडल

काठमाडौंमा फोहोरको समस्या विकराल भइरहँदा वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको नयाँ मोडल


सुर्खेत- संघीय राजधानी काठमाडौंमा फोहोरको समस्याले विकराल रुप लिइरहेको बेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले फोहोर व्यवस्थापनको नयाँ मोडल अघि सारेको छ ।
नगरपालिकामा आज पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार आफ्नो वडाबाट निस्किएको फोहोर अब वडा आँफैले व्यवस्थापन गर्नुपर्ने भएको छ । नगर प्रमुख मोहनमाया ढकालले फोहोर व्यवस्थपानको सम्पूर्ण जिम्मा अव डालाई दिइएको बताउनुभयो । अब वडा कार्यलयहरुले नै फोहोरको ठेक्का लगाउने र सम्झौता अनुसार काम नभए ठेक्का तोड्नेसम्मको अधिकार दिएको जानकारी दिनुभयो ।
नगरपालिकाको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामको संस्थाले लिएको छ । फोहोरमैला संकलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यको नेतृत्व अब सम्बन्धित वडाले गर्नेछ । नगर प्रमुख ढकालले अनुगमनका क्रममा कैफियत देखिएमा सम्बन्धित वडाले ठेक्का तोड्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । नगरपालिकाको सोमबार बसेको पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले ज्येष्ठ नागरिक, अति विपन्न र दीर्घरोगीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रका ज्येष्ठ नागरिक र गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, ढल तथा नालाहरुको शिघ्र मर्मतका लागि तत्काल प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने, वीरेन्द्रनगर वडा नं ११ भेरी पुल नजिकको प्रश्रान्ति धार्मिक वन क्षेत्रमा गौशालाको पूर्वाधार निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको लगत संकलन गरी उचित संरक्षण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्थानीय राजस्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता दिएको छ । राजस्व परामर्श समितिका सदस्यमा वडा नं ७ का अध्यक्ष ध्रुवकुमार चपाई र कार्यपालिका सदस्य यमुना कुमारी नेपालीलाई मनोनयन गरेको भने बजेट सीमा निर्धारण समितिका सदस्यहरुमा कार्यपालिका सदस्यहरु रचना बाठा, सरिता चौधरी, नवराज गुरुङलाई मनोनित गरेको छ । नगर प्रमुख ढकालका अनुसार ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान’ अन्तर्गत नगर शैक्षिक कोष स्थापना गर्न नगर शिक्षा, युवा तथा खेलकूद शाखालाई मस्यौदा तयार गर्न जिम्मेवारी दिने, भूमिसम्बन्धी समस्या समाधानका बाँकी कार्यहरुलाई निरन्तरता दिने निर्णय गरेको छ । कार्यपालिका बैठकका निर्णय सार्वजनिकीकरण कार्यक्रममा उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी पनि उपस्थित हुनुहुन्थ्यो ।