अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाईमा प्लान्ट सञ्चालनको तयारी

कनकाईमा प्लान्ट सञ्चालनको तयारी


बिर्तामोड – झापाको कनकाई नगरपालिकामा निर्माण गरिएको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा कम्पनी लिमिटेड सञ्चालनमा ल्याउन स्थानीय तह जुटेका छन् । बायो ग्याँस प्लान्टको निर्माण कार्य अन्तिम पुगेकपछि सञ्चालनको तयारी थालिएको छ ।

बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाले गत हप्ता स्थलगत अवलोकन गरेर साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा कुराकानी अघि बढाएको छ । बजार क्षेत्रबाट उत्पादन हुने फोहोरको व्यवस्थानसँगै बायो ग्यास उत्पादन मुख्य लक्ष्य रहेको छ ।

बायो ग्यास प्लान्टको निर्माण ९० प्रतिशत पुरा भइसकेको छ, कम्पनीका सञ्चालन सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार स्थानीय तहको सकारात्मक पहलबाट यसलाई तत्कालै सञ्चालनमा ल्याउन सकिन्छ । सञ्चालनका लागि तीन वटै नगरपालिकाले चासो देखाएका छन् ।

१२ सय परिवारमा दैनिक ग्यास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको प्लान्ट असोज महिनादेखि चालु गर्ने तयारी छ । सञ्चालनका लागि नगरपालिकाहरुले आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने बुझिएको छ । पालिकाहरुले स्रोत व्यवस्थापनमा गर्ने तदारुकताले नै कहिलेबाट चलाउने भन्ने निर्धारण गर्न सकिने बताइएको छ ।

फोहोर प्रशोधन गरी ग्याँस उत्पादन गर्ने र पाइप लाइनमार्फत घर–घरमा बितरण गर्ने योजनाका साथ अघि बढेको बायो ग्याँस प्लान्टका लागि थप ५ करोड आवश्यक छ । १८ करोड लागतमा निर्माण गरिएको प्यालन्टमा १३ करोडको काम सम्पन्न भइसकेको बुझिएको छ ।

चालु भएको १ महिनामा ग्यास उत्पादन गर्न सकिने प्लान्टका लागि केहि उपकरण आयात गर्न बाँकी रहेको सञ्चालक भट्टराईको भनाई छ । ४ हजार घनमिटर क्षमताको प्लान्ट निर्माणपछि पाइपलाइन विस्तार गर्दै घरघरमा ग्यास पुर्याउने योजना रहेको उनको भनाई छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनका लागि २ करोड बजेट व्यवस्था गरेका थिए । स्थानीय तहहरुबाट तत्कालै स्रोत व्यवस्थापन नहुँदा सो बजेट फिर्ता गएको थियो ।

कोरोनाका कारण समयमा मेसिनरी सामान आयात गर्न नसक्दा आयोजनाको लागत बढन पुग्यो’, सञ्चालक भट्टराईले भन्नुभयो, ‘अब सरोकारवालाबीच छलफल सुरु भएको हामी छिट्टै निष्कर्षमा पुग्छौँ।’

अनुगमनपछि आयोजना सम्पन्न गर्न साझेदार संस्थाबीच स्रोत व्यवस्थापनका विषयमा प्रारम्भिक छलफल सुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘आयोजनाको काम अन्तिम चरणमा छ । चाहिने सबै सामान आइसकेको अवस्था छ । तर, अहिलको समस्या भनेको आर्थिक स्रोत व्यवस्थापनको देखियो ।’

कनकाई नगरपालिकाले ६२ लाख रुपैयाँ उपलब्ध गराएको छ भने साझेदार संस्थाहरु बिर्तामोड र अर्जुनधाराले पनि आर्थिक दायित्व बहन गर्ने तयारी गरेका छन् । तीन वटै पालिकाले समान सहयोग गर्ने कुरामा सामान्य असमझदारी भइरहेको बुझिएको छ । पालिकाको लगानी शेयर कायम हुने भएकाले भविष्यमा तीन वटै पालिकाको आम्दानीको स्रोत हुने निीश्चत छ ।