अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइयो : खगराज अधिकारी

प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न सशस्त्रको विज्ञापन हटाइयो : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाका भान्जालाई बढुवा गर्नका लागि सशस्त्र प्रहरीको सूचना नै हटाइएको दाबी गर्नु भएको छ ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि छलफलका क्रममा सांसद अधिकारीले बढुवा सम्बन्धी विज्ञापनको सूचना हटाएर प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्न चलखेल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृह मन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ?’

प्रधानमन्त्रीको आफ्नो भान्जा पर्ने धेरै जुनियर तान्नुपर्ने भएकाले सूचना हटाइएको उहाँको दाबी छ । अधिकारीले भन्नुभयो, ‘प्रधानमन्त्रीको साक्खै भान्जा पर्ने धेरै जुनियर तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ । गृह प्रशासनमा बसेर न्याय दिनुपर्ने ठाउँमा रहेका पदाधिकारीहरूलाई यहाँसम्मको अत्याचार प्रधानमन्त्रीको कार्यालयमा हुक्के चिलिमे बैठकेको नातेदार पर्‍यो भन्दैमा निकालेको सूचना एकाएक हटाइन्छ भने गृह मन्त्रालयलाई यो पैसा किन चाहियो ?’

एसपीबाट एसएसपी बढुवा दीपेन्द्र कुँवरको बढुवाका लागि सो विज्ञापन हटाइएको आरोप छ ।

कुँवर प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव समेत रहेका भतिज भानु देउवाका बहिनी ज्वाइँ हुन् । उहाँलाई कामु एसएसपी बनाइसकिएको छ । अवधि नपुगेका कारण कन्फर्म एसएसपी बनाउन नमिलेको र विज्ञापनको सूचना नै हटाइएको आरोप छ ।