अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका १२ सरकारी कार्यालयले २८ महीनासम्म तिर्दैनन् विद्युत महसुल

कर्णालीका १२ सरकारी कार्यालयले २८ महीनासम्म तिर्दैनन् विद्युत महसुल


सुर्खेत – विद्युत प्राधिकरणले कर्णाली प्रदेशका १२ सरकारी कार्यालयले विद्युत महसुल बापतको लाखौं रुपैयाँ नबुझाएको जनाएको छ । महसुल नबुझाउनेमा प्रदेशका मन्त्रालयदेखि जिल्लास्थित कार्यालयहरू समेत छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले २२ महिनादेखि विद्युत महसुल बुझाएको छैन । यस मन्त्रालयले चार लाख आठ हजार ५७० रुपैयाँ ७३ पैसा नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी छ ।

यसैगरी, भुकम्पमापन केन्द्रले समेत विगत एक वर्षदेखि विद्युत महसुल बुझाएको छैन । केन्द्रले कुल तीन लाख ८७ हजार ८९९ रुपैयाँ ५८ पैसा बुझाउँन बाँकी छ । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको नाममा रहेको तीन लाख ६१ हजार ८६९ रुपैयाँ ६७ पैसा, संघीय आयोजना कार्यान्वयन इकाइले दुई लाख ७५ हजार ८५५ रुपैयाँ १२ पैसा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ९२ हजार ८७८ रुपैयाँ ९९ पैसा प्राधिकरणलाई बुझाउन बाँकी छ ।

सुर्खेतको जिल्ला प्रशासन कार्यालयले समेत विगत एक वर्षदेखि विद्युत महसुल बुझाएको छैन । प्रशासनले एक लाख ७० हजार ७५९ रुपैयाँ ७४ पैसा विद्युत महसुल बुझाउन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाले दुई लाख ८८ हजार ५३४ रुपैयाँ पाँच पैसा प्राधिकरणलाई बुझाउन बाँकी छ ।

नगरपालिका अन्तर्गत रहेको घण्टाघर क्षेत्रमा प्रयोग भएको विद्युतको महसुल ३१ महिनादेखि बुझाएकै छैन । सो क्षेत्रको एक लाख ५७ हजार ११० रुपैयाँ महसुल बुझाउन बाँकी छ । वीरेन्द्रनगर नगरपालिका कार्यालयमा खपत भएको तीन महिनायताको विद्युत महसुल बुझाउन बाँकी छ । कार्यालयको एक लाख ३१ हजार ४२४ रुपैयाँ पाँच पैसा प्राधिकरणलाई बुझाउन बाँकी छ ।

यसैगरी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत ६ महिनादेखि विद्युत महसुल बुझाएको छैन। मन्त्रालयले एक लाख २७ हजार ४२८ रुपैयाँ एक पैसा विद्युत महसुल बुझाउन बाँकी छ । नेपाल टेलिकमले ११ महिनाको एक लाख तीन हजार ७४ रुपैयाँ ३१ पैसा, उपत्यका नगर विकास समितिले २९ महिनाको ८९ हजार ५५ रुपैयाँ ४४ पैसा र क्षेत्रीय खानेपानी निर्देशनालयले ८५ हजार ७०४ रुपैयाँ महसुल बुझाउन बाँकी नै छ ।

माथि उल्लेखित विद्युत महसुल नेपाल विद्युत प्राधिरणले लिन सक्ने हर्जना बाहेकको रकम हो । साविकका सरकारी कार्यालयको नाममा विद्युत मिटर सञ्चालनमा रही आएका छन् । विद्युत महसुल नबुझाउने अन्य सरकारी कार्यालयहरूमा खानी तथा भूगर्भ विभाग समेत छ ।

यस कार्यालयले ६ महिनादेखि विद्युत महसुल बुझाएको छैन । साथै नगर योजना कार्यालयले २२ महिनादेखि महसुल नबुझाएको नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ । सात महिनादेखि सुर्खेत जिल्ला अदालतले, पाँच महिनादेखि क्षेत्रीय संग्राहलयले ४६ महिनादेखि नेपाल रेडक्रस सोसाइटी, कटकुवा स्वास्थ्य चौकीले नौ महिनादेखि विद्युत महसुल बुझाएका छैन ।

पाँच महिनादेखि जिल्ला खानेपानी कार्यालय, रेञ्जर कार्यालयले सात महिनादेखि, कर्मचारी मिलन केन्द्रले १७ महिनादेखि, मालपोत कार्यालयले पाँच महिनादेखि, भूमि सुधार कार्यालयले ६ महिनादेखि, जल उत्पन्न प्रकोपले सात महिनादेखि, उच्च अदालत सुर्खेतले आठ महिनादेखि, झुप्रा बृहत् खानेपानीले १५ महिनादेखि, यातायात व्यवस्था सेवा कार्यालयले सात महिनादेखि विद्युत महसुल बुझाएका छैन ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन महिना, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको १० महिना र वीरेन्द्रनगर नगरपालिकाको अक्सिजन प्लान्टको तीन महिनादेखिको विद्युत महसुल भुक्तानी भएको छैन । ताकेताले मात्र नपुगेका कारण प्रदेशिक कार्यालयसँग सम्पर्क गरेर अब लाइन नै काट्ने अवस्थामा पुगेको सुर्खेत विद्युत प्राधिकरणले जनाएको छ ।