अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि….

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि….


काठमाडौं – मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाउनु भएको छ ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाउनु भएको हो ।

प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउदै हुनुहुन्थ्यो । सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे ।

प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताउनुभएको छ ।

मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो।

मलको हाहाकार भएकाले सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “हमीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।”

उहाँले मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताउनुभयो  

प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द गरेको बताउनुभयो ।

अर्का सदस्य पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएन भने उनका परिवार समस्यामा पर्ने हुँदा उनीहरुलाई मल दिनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य डिला सङ्ग्रौलाले सरकारले भारत सरकारसँग सम्झौता ९जिटुजी० गरी मल ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषि क्षेत्रको महत्व रहेको र जनताले मल पाउनुपर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।

अर्का सदस्य गोपालबहादुर बमले किसानले मल नपाउने समस्या सबै दलको साझा समस्या भएकाले एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सांसद लक्ष्मी परियारले प्रत्येक वर्ष मलको अभाव हुने गरेको सन्दर्भ जोड्दै समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने बताउनुभयो ।

सांसद गणेशकुमार पहाडीले जनताले रोपेको धान नफल्ने र रोप्न नपाइने भन्दै चिन्ता गरेकाले दीर्घकाल समाधानका लागि मल उद्योगको विकल्प नै नभएको बताउनुभयो ।

सांसद नरबहादुर धामीले ६० प्रतिशत किसान भएको मुलुकमा कूल गार्हस्थ्य उत्पादन २५ प्रतिशत रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले गत वर्ष धानखेती नष्ट भएका किसानले क्षतिपूर्ति नपाएको जानकारी दिँदै मलको अभाव हुनु दुःखदायी भएको बताउनुभयो ।

सांसद सूर्यप्रसाद पाठकले सरकारले मल खरिद गर्ने प्रक्रिया पूरा गर्न २२६ दिन लाग्ने हुँदा दीर्घकालीन समाधान भनेको जैविक तथा प्राङ्गरिक मलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।