अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती


बैतडी – सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको छ । बैतडीको दुर्गम क्षेत्रमा नजिकमा बैंक नहुँदा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भएको हो ।

सिगास गाउँपालिकाका नागरिकले भत्ता बुझ्न तीन दिनसम्म लाग्ने गरेको गुनासो गरेका छन्। गाउँपालिकाले वडा नम्बर २ गाँजरीस्थित कृषि विकास बैंक शाखाबाट सामाजिक सुरक्षा वितरण गर्दै आएको छ ।

सडक सुविधा नभएकाले उनीहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको छ । ‘काम गर्न तीन दिनसम्म लाग्ने गरेको छ’, सिगास गाउँपालिका–६ थलाकडाका कले लुहारले भन्नुभयो, ‘सडक सुविधा नहुँदा समय बढी लाग्ने गरेको छ ।’

सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता बुझ्ने नियम बनाएपछि दुर्गम क्षेत्रका नागरिकलाई समस्या भएको छ । बैंकको पहुँचभन्दा टाढा भएकालाई समस्या भएको सिगास–७ का ज्येष्ठ नागरिक महा लुहारको भनाइ छ । उहाँले भन्नुभयो, ‘बैंकमा लामो समय लाइन बस्नुपर्छ, कहिले इन्टरनेट हुँदैन, कहिले विजुलीको समस्या छ भन्छन् ।’

सिगास–५, ६, ७, ८ र ९ का बासिन्दलाई बैंक टाढा हुँदा समस्या छ । जिल्लाका सबैजसो ठाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भइरहेको छ । बिजुलीबत्ती नहुँदा सोलारको भरमा काम गर्नु परिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली पुगेको छैन । सोलारको भरमा काम गर्नु परिहेको हुन्छ । घाम नलागेको बेला सोलारले काम नगर्दा झन् समस्या हुन्छ । इन्टरनेट सेवा पनि दू्रत गतिको छैन । यसबाट  सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।’

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएकाले बैंकसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीको माग छ । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।