काठमाडौं -नेकपा एमालेले स्थानीय तहका प्रमुख उपप्रमुखलाई दिने प्रशिक्षणको तयारी पुरा गरेको छ । प्रशिक्षणमा भाग लिन विभिन्न पालिकाहरुबाट सहभागी आइपुग्ने क्रम सुरु भएको छ ।
भोली विहान १० बजेबाट काठमाडौंको राष्ट्रिय सभागृहमा हुने प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली र केही स्थानीय तहका विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले समग्र राजनीतिक परिस्थिती,संघीयताको जगका रुपमा रहेका स्थानीय तहहरुले गर्नुपर्ने काम,पार्टी बलियो बनाउन जनप्रतिनिधीले गर्नैपर्ने कामका सन्दर्भमा प्रशिक्षण दिनुहुनेछ । यसैगरी महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनधीहरुले पालना गर्नुपर्ने आचार संहिता,अधिकारका क्षेत्रहरु,पार्टीसँगको समन्वय आदिका बिषयमा प्रशिक्षण दिने कार्यक्रम छ । यसैगरी उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी जनप्रतिनिधीको अन्तरसम्बन्ध र जनप्रतिनिधीहरुले पालना गर्नुपर्ने नीति नियमका बिषयमा प्रशिक्षण दिने कार्यक्रम छ । प्रशिक्षणको दोस्रो दिन काठमाडौं घोषणा पत्र जारी गर्ने पार्टीको तयारी छ । उक्त घोषणा पत्रमा एमालेका जनप्रतिनिधीहरुले आगामी पाँचवर्षमा के गर्नेछन् भन्ने कुरा उल्लेख गरिने पार्टी स्रोतले जनाएको छ ।
यस्तै केही विज्ञहरुले स्थानीय तहहरुले नीति,कार्यक्रम र बजेट निर्माण गर्दा अपनाउनु पर्ने विधीहरुको बारेमा प्रशिक्षण दिने कार्यक्रम छ । प्रशिक्षण विहान १० देखि साँझ ५ बजेसम्म हुने छ ।
सहभागीहरुले आवतजावत र बसोबासको प्रबन्ध आफैं गर्नुपर्ने एमालेले जनाएको छ ।
प्रतिक्रिया