कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाउनुभएको छ । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताउनुभयो ।
‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उहाँले भन्नुभयो, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रूपमा विकासमा अघि बढिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सानो छँदा धनगढी पुग्न तीन दिन लाग्थ्यो । अहिले पहाडका सबै मुकाममा सडक पुगेको छ ।
धनगढी पुग्न पनि धेरै समय लाग्दैन’, उनले भने– ‘काठमाडौ जान खोज्दा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अहिले २२ वटा पुल बनेका छन्, सडकबाटै काठमाडौ पुगिन्छ । नियमित विमान उडान भइरहेका छन् ।’
प्रतिक्रिया