ताप्लेजुङ – अविरल वर्षा सँगैको पहिरोले शनिबार बिहान फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम चाकुका जीवन बाराकोटीको घर बगाएको छ । प्रहरी नायब उपरीक्षक कैलाश राईले मानवीय क्षति नभएको, तर भैंसी, बाख्रालगायतका पशुचौपाया बगाएको जानकारी दिनुभयो। पहिरो जान थालेपछि मानिसहरु भागेका थिए ।
यहाँका करिब २५ घर पहिरोको जोखिममा परेको स्थानिय जगन पौडेलले बताउनुभयो । पानी परिरहेको खण्डमा बस्ने अवस्था नहुने उनले बताए । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा राख्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष भूपेन्द्र चौलागाईं बताउनुहुन्छ ।
फक्ताङलुङ गाउँपालिका–१ सावादिन तेम्रुङमा सिरानघरे कान्छा भनेर चिनिने टेकबहादुर श्रेष्ठको भैंसी, बाख्रा लगायतका पशु चौपाया बगाएको स्थानीय भक्तबहादुर सावदिनले जानकारी दिनुभएको छ। यहाँका पनि केही घर जोखिममा रहेको उहाँले बताउनुभयो ।
सिरिजंगा गाउँपालिका ७ खेवाङका विस्थापित परिवार सुरक्षित घर र भवन पहिचान गरी सेल्टर बनाएर बसेका छन् । स्थानीय गणेश माविका शिक्षक विनम मावोका अनुसार पहिरोको जोखिम कायमै रहेकाले मानिसहरु घर फर्कन सकेका छैनन् । सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको छ । पहिरो प्रभावित क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको विनमले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सिरिजंगा १ सिनाममा रहेको सशस्त्र प्रहरीको टोली खेवाङतर्फ पठाइएको छ । जताततै पहिरो चलेकाले टोलीलाई पुग्न समय लाग्न सक्ने पोख्रेलले बताउनुभयो। खेवाङ प्रहरी चौकीको टोली परिचालन गरिएको राई बताउनुहुन्छ ।
बिहीबार बेलुकाको पहिरोमा परी ज्यान गुमाएका सासु तुलसा र बुहारी यशोदा अधिकारीको अन्त्येष्टि कावेली नदीमा शनिबार बिहान भएको छ । सदरमुकाम फुङलिङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र ससुरा उद्योग अधिकारीले जिम्मा लिई अन्त्येष्टि गरेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोमा परी घाइते भएका विष्णु अधिकारीको स्वास्थ्यमा सुधार आएको उनका मावली वसन्त दाहालले जानकारी दिनुभयो । घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरले मृतकलाई पोष्टमाटर्मका लागि सदरमुकाम फुङलिङ ल्याइ घाइतेलाई कोशी अस्पताल पुर्याएको हो ।
पहिरोले फक्ताङलुङ २ खेजेनिम चाखुमा दुई वटा खानेपानीको मुहान बगाउँदा ४५ परिवार खानेपानीवाट बञ्चित भएका छन् । मेथेम खोला पावर हाउसको ३० मिटर पाइप बगाउँदा सात सय परिवार विद्युत् सेवावाट बञ्चित भएका छन् । गाउँपालिका जोड्ने सडक अवरुद्ध भएको छ । सिरिजंगा गाउँपालिकाको मामांखे, पेदाङ र खेवाङ विद्युत तथा सञ्चारविहीन भएका छन् । ७० किलोवाटको खाक्सेखोला लघु जलविद्युत् बगाउँदा विद्युत्विहीन भएको र मोबाइल चार्ज गर्नसम्म नपाएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया