जनकपुर – बजेट पुस्तिका प्रकाशन नहुँदा मधेश प्रदेशमा बजेटमाथि छलफल शुरू हुन सकेको छैन।
सरकारले बजेट प्रस्तुत गरेको चार दिन बितिसक्दा पनि बजेट पुस्तिका प्रकाशन गरेको छैन। बजेट प्रस्तुत गरिएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बैठक पुनः कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। सांसदहरूले बजेट पुस्तिका प्राप्त गरेपछि मात्र बजेटमाथि दफावार छलफल शुरू हुन्छ।
लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले सरकारले पुस्तिका उपलब्ध गराउन एक साताको समय मागेकाले प्रदेश सभा बैठक बस्न ढिलाइ भइरहेको बताउनुभयो। “बजेट प्रस्तुत गरेको दिनदेखि एक साता अब बित्न लागेको छ,” उहाँले भन्नुभयो‚ “योजना पुस्तिका उपलब्ध गराएसँगै छलफल शुरू हुनेछ।”
अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएको कारण सदन सञ्चालन हुन नसकेको प्रदेश सभाका सचिव रञ्जित यादव बताउनुहुन्छ। “सरकारले रेडबूक उपलब्ध गराएपछि सदन सञ्चालन हुनेछ‚” उहाँले भन्नुभयो, “यसै हप्ता रेडबूक आउनेछ।”
अर्थमन्त्री शैलेन्द्र साहले असार १ गते प्रदेश सभामा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो। कुल विनियोजनमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार, वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २०० रुपैयाँ रहेको छ।
प्रतिक्रिया