अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय : प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय : प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

आज समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताउनुभएको थियो भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेका थिए ।

लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गर्नुभयो ।

तर, कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाए । उनीहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने, तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकुल भन्न नहुने तर्क गरे ।

विवाद र बहसपछि समिति सभापति खरेलले निर्णय सुनाउनुभयो ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’