विर्तामोड -नगरपालिकामा आज सर्वदलीय बैठकमा भएको छलफलमा नगरप्रमुख पवित्रादेवी महतरा प्रसाईंलाई दुर्व्यवहार गर्ने दोषीलाई कारबाही गर्न एमालेले माग गरेको छ ।
एमाले विर्तामोड नगर कमिटीले आज एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै उक्त माग गरेको हो । आज विहान बुधबारे हटियाका बिषयमा नगरपालिकामा भइरहेको छलफलमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु नेउपानेले प्रमुख प्रसार्ईंलाई दुव्र्यवहार गरेका थिए । उनै नेउपानेले एमाले विर्तामोडका अध्यक्ष सुवास भट्टराईलाई समेत हातपातको प्रयास गरेका थिए ।
नेउपानेलाई अविलम्ब कारबाही माग गर्दै एमालेले जारी गरेको विज्ञप्ती यस्तो छ :
यस्तो छ एमाले बिर्तामोडको विज्ञप्ति
बिर्तामोड नगरपालिकाका नगरप्रमुख ज्यूको कार्यकक्षमा असार ६ गते बिहान बिर्तामोड उद्योग वाणिज्य संघको नामबाटसिमित मानिसहरुको अगुवाईमा भएको हुलहुज्जत एवम् नगरपालिकाको सार्वजनिक सम्पत्ती तोडफोडप्रति हाम्रो पार्टी नेकपा एमाले बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाप्रति पार्टीको गम्भीर आपत्ती रहेको छ र घोर भत्सर्ना गर्दछ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटियाको जग्गामा ब्यापार गरेर बस्ने व्यवसायीका नाममा विद्युत् मिटर जडान गर्न नगरपालिकाबाट सिफारिस दिनुपर्ने माग राख्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको अगुवाईमा केही दिनदेखि नगरपालिकाको प्राङ्गणमा नाराबाजी चलिरहेको थियो । सोही विषयमा सोमवार बिहान नगरपालिकाको आयोजनामा चलिरहेको सर्वदलीय बैठकमा मागकर्ताहरु समेतको राय लिइएको र सबैका कुराहरु सुनिसकेपछि नगरप्रमुख पवित्रा महतारा प्रसाई ज्यूले मन्तब्य राख्दै गर्दा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बोल्न रोक्दै दूव्र्यवहार गरेको घटनाप्रति हामीले असहमति जाहेर गर्दा पार्टीका नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास हुनु खेदजन्य घटना हो ।
निज राजु न्यौपानेले नगरपालिका परिसरभित्र रहेको सार्वजनिक सम्पत्तीसमेत तोडफोड गर्नुले निज आपराधिक मानसिकताबाट उद्यतभई महिला नगरप्रमुखमाथि ज्यादति र मानमर्दन गर्न खोजेको प्रष्ट हुन्छ । निजको अगुवाईमा भइरहेको व्यवसायीहरुको नगरपालिका घेराउ र नाराबाजीले दाताबाट प्रदत्त जमिनको उपयोग होइन, उक्त जग्गा हडप्ने कुत्सित मनसाय देखिन्छ । दाता रामबाबु प्रसाईको सदिच्छा अनुसार आफ्ना बुबा देवीप्रसाद प्रसाईको नाममा अनारमनी गाविसलाई हाटबजार गर्न सहज होस् भनी दान दिएको जग्गा हडप्ने वाणिज्य संघको नाममा केही अगुवाहरुको कर्तुतप्रति कानुनी कारबाहीका लागि बिर्तामोड नगरपालिका कार्यालय, प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं ।
उक्त जमिनमा व्यवस्थित भवन निर्माण गरी त्यहाँ हाल व्यवसाय गरिरहेका व्यापारीहरुलाई प्राथमिकता दिने पक्षमा नेकपा एमाले प्रष्ट छ । तर ब्यवसाय गर्ने नाममा जमिन अतिक्रमण गरी बसेका व्यवसायीका पक्षमा नेकपा एमाले नरहेको र नरहने कुरा पनि प्रष्ट पार्न चाहन्छौं । अन्त्यमा, यी सबै हर्कतहरु बन्द गर्न आग्रह गर्दै वाणिज्य संघको नामबाट केही व्यक्तिको अनाधिकृत अगुवाईबाट हुने क्षतिप्रति स्वयम् जिम्मेवार हुनुपर्ने कुरा पनि स्पष्ट पार्दछौं ।







प्रतिक्रिया