विराटनगर- अविरल वर्षाका कारण पूर्वका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण मानिसहरु बिस्थापित भएका छन् । झापाको दमकमा रतुवा नदीले कटान तिब्र पारेको छ । नदीको कटानमा कारण दमक ७ मा बस्ती नै जोखिममा परेको छ । त्यहाँ अस्थायी बोराले नदी नियन्त्रणको प्रयास भइरहेको छ । यस्तै गौरादह ५ को टगुवामा रतुवा नदीले ५० घर डुबाएको छ । यस्तै गौरादह ६ को लेलिया डागीमा १२५ घरमा रतुवाको बाढी पसेको छ । गौरादह ६ कै दामुनाका ३५ घर डुबान परेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले शिवसताक्षी ४ मा कमल बनियानी खोला पस्दा बिस्थापित १ सय २ जनालाई त्रिभुवन माविमा राखिएको बताउनुभयो । ढकालका अनुसार कमल, दमक, शिवसताक्षी, गौरादह र गौरीगन्ज बाढीको उच्च जोखिममा रहेको उल्लेख गरेका छन् ।
यस्तै सिंघिया खोलामा आएको बाढी विराटनगर ८ को बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन्। अविरल वर्षापछि विराटनगरको सिंघिया र केसलिया खोलामा बाढी आएको छ।
बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ। खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेका छन्।
विस्थापित भएकाहरुलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
यस्तै, कटही गाउँपालिका र विराटनगर महानगरका बस्ती छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ।







प्रतिक्रिया