काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराध घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्नुहुँदै सो व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।
उहाँले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत गराउनु भयो । महिला हिंसालाई नियन्त्रण गर्न सोही अनुसारको प्रविधिको व्यवस्था गर्न ढिलाई गर्न नहुने धारणा समेत सांसद पाण्डेले राख्नु भयो ।
विन्दा पाण्डेले भन्नुभयो, ‘अपराधको अनुसन्धान गर्ने क्रममा अहिले हामीले जे कुरा गरिराखेको छौं । त्यसका लागि विधि र प्रविधि पुग्दैन । यसलाई सुदृढ गरेर लैजानु पर्दछ । महिला हिंसालाई कम गर्न सिसीटिभीको कुरा हामीले गरिराखेको छौं । तर हिँड्दा हिँड्दै हुने हिंसालाई कम गर्ने प्रविधिको पनि आवश्यक व्यवस्था मिलाउनु पर्दछ । त्यसैगरी जथाभावी जरिवाना गर्ने भन्दा पनि त्यसको पनि राष्ट्रिय/अन्तराष्ट्रिय मापदण्डलाई हेरेर आवश्यक व्यवस्था मिलाउनु पर्ने हुन्छ ।’
सांसद पाण्डेले महिला हिंसाका घटनाका पीडितलाई न्याय दिने गरी सबै स्थानीय तहमा सुनुवाई समितिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । महिला हिंसाका घटनाका दोषीलाई गरिने जरिवानाको पनि निश्चित मापदण्ड बनाउनु पर्नेमा जोड दिनु भयो ।







प्रतिक्रिया