काठमाडौ -राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरूले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै छानबिन गर्न माग गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिहरू प्रवेश गराई करको दर हेरफेर गरेको आरोप छ।
बजेट निर्माणमा उठेका प्रश्नमाथि यथोचित छानबिन गर्न पूर्वउपाध्यक्षहरूले मन्त्रिपरिषद, संसद र संवैधानिक निकायहरूसँग माग गरेका हुन्।

पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले मंगलबार संयुक्त विज्ञप्ति निकालेर संकोटोन्मुख अर्थतन्त्रको सामना गर्न सरकारले ठोस योजना ल्याउनुपर्ने पनि बताएका छन्।
‘बजेट निर्माण अनुशासनहीन क्रियाकलाप भएको भन्दै निजी क्षेत्र, अर्थशास्त्री तथा पूर्वअर्थमन्त्रीहरू, नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, सञ्चार माध्यमले प्रश्न उठाइरहेका छन्,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिनको माग गरिरहेको छ।’
यी घटनाक्रमले नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको र जनताबाट उठेको करको दुरूपयोग हुँदै मूल्यवृद्धि, जनजिविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र कुशासनलाई सरकारले नै टेवा पुग्ने काम गरिरहेकोले थप आर्थिक जटिलताको संकेत देखा परेको उनीहरूले बताएका छन्।
उनीहरूले संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।







प्रतिक्रिया