धनगढी- बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।
बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक नेतृत्वको टोली खटाइएको छ । ।
वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो ।
बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।
बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।
प्रतिक्रिया