बिर्तामोड–साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सवका अवसरमा सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ प्रदान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण गरेको छ । शास्त्रीय संगीतलाई पूर्वमा स्थापित गर्ने मेहनती प्रतिभाका रुपमा राईको पहिचान छ ।
संगीत साधक राईलाई कार्यक्रमका प्रमुख अतिथि इलाम निवासी लोकगायक देवीप्रसाद गौतम, साहित्य चौतारीका संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला बिमली तथा चौतारीका अध्यक्ष हस्त परियारले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।
कार्यक्रममा चेलागणसहित उपस्थित भएका विराटनगर निवासी राईले आफूलाई साहित्य चौतारीले सम्झिएकोमा हर्ष लागेको बताउनुभयो । राई २३ वर्षदेखि पूर्वीय लोकभाका र शास्त्रीय संगीतको विकासमा निरन्तर क्रियाशील हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले साहित्यिक अभियानमा चौतारीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्राज्ञ सभा सदस्य शुभद्रा अर्यालले धेरै साहित्यिक प्रतिभा जन्माएको साहित्य चौतारी अव युवा भएको बताइन् ।
कार्यक्रममा सहभागिता जनाउन भारतबाट पनि कलाकार र स्रष्टासर्जक उपस्थित भएका छन् । पश्चिम बंगालको सिलगुडीबाट सुमन निरौला र जीवन अधिकारीसहितको टोली कार्यक्रममा सहभागी भएको छ ।
२०५६ असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, संगीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।





प्रतिक्रिया