चितवन – विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । कार्यलय परिसर मै दिउसोदेखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् ।
कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार्य बन्द भएको गेट चढेर भागेर ज्यान जोगाउनुभएको छ । राष्ट्रिय समाचार समिति चितवनका संवाददाता आचार्य नारायणी अनलाइन न्युजपोर्टलको सम्पादक समेत हुनुहुन्छ ।
घटनाको निन्दा गर्दै प्रेस चौतारी जिल्ला शाखा चितवनले विज्ञप्ती निकालेको छ । अध्यक्ष सुवास पण्डितले जारी गरेको विज्ञप्तीमा कार्यलयमा दिउसै मातेका कर्मचारीले पत्रकारलाई कुटपिट गर्नु निन्दनीय भएको उल्लेख छ । पत्रकार आचार्यलाई ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएकोले कार्यलय प्रमुख मनोज सिंहलाई विभागीय कारबाहीको माग गरिएको छ । मातेको जत्थाले पत्रकार आचार्यको लुटेको मोबाइल हालसम्म फिर्ता नदिएको उल्लेख छ । संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित हुने गरी भएको यस्तो हर्कतको चौतारीले निन्दा गरेको छ ।
कुटपिट गर्नेहरु भागेपछि थप अनुसन्धानका लागि कार्यालय प्रमुख राजीवकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनभर पार्टी गर्दाको सीसिटिभिमा फुटेज समेत डिलिट गराइएको छ । घटनाका दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेका थिए । साँझ साढे ५ बजेतिर आचार्यमाथि कुटपिट भएको थियो ।






प्रतिक्रिया