विर्तामोड -विर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरीएको हो ।
शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका विच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरीएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८का ६ जना, वडा नम्बर ९का १५ जना र वडा नम्बर १०का ११ जना रहेका छन् ।
विर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसंग विपन्न आवास,कृषि,पशुपंछि र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताउनु भयो । उहाँले यस कार्यक्रमबाट कृृषकको जिवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिव विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको धारणा राख्नु भयो ।
बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरीयाले सहारा नेपालसंगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरीएको जानकारी दिनु भयो । ५ वर्षको अवधिका बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ । यस चालु आर्थिक वर्षमामात्रै नगरबाट ६७ वटा र सहारा नेपालसंगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरीएको जनाइएको छ । वितरण गरीएका ट्युबवेलबाट करिब २ हजार विगाह भन्दा बढी जमिनमा सिँचाई पुगेको छ ।
सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छवीलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितिय उपाध्यक्ष ज्ञानुनाथ मैनाली,कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साह लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया