काठमाडौ -काठमाडौ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर घरबाटै छुटयाउन अनिवार्य गरेको छ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा राखे मात्र महानगरको फोहोर उठाउने सवारीले फोहोर लिने बताईएको छ ।
त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ ।
काठमाडौँ महानगरपालिकाले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जनाएको छ ।
महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने जनाएको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।
कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको छ । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ ।
प्रतिक्रिया