अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करोडौं रकम नपाएपछि प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य विमाबाट हुने उपचार रोके

करोडौं रकम नपाएपछि प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य विमाबाट हुने उपचार रोके

प्राइभेट अस्पतालको खर्चमा सरकारको शाख जोगाइदिनु पर्ने बाध्यता हामीलाई छैन : दुर्गा प्रसाईं


काठमाडौ -सरकारले स्वास्थ्य विमाको करोडौं रकम भुक्तानी नदिएपछि प्रदेश नं १ का तीनवटा ठूला अस्पतालले आज देखि स्वास्थ्य विमा कार्यक्रम बन्द गरेका छन् ।
झापाको वि एण्ड सी अस्पताल,विराटनगरको नोबेल अस्पताल र विराट अस्पतालले विमा सुविधा बन्द गरेका हुन् । विमा सुविधा बन्द गर्दा उपचारमा आउने हजारौं विरामी समस्यामा परेका छन् ।
दुई साता अघि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार नोबेलको ५५ करोड,विराटको ४६ करोड र वि एण्ड सीको ४४ करोड रुपैंया भुक्तानी दिन बाँकी छ ।
वि एण्ड सी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गीरीका अनुसार सरकारले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको,भुक्तानीका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि विमा सेवा बन्द गरिएको हो । यसबाट विरामी महानुभावहरुमा परेको असुविधाले अस्पताल दुःखी रहेको गी।रीले बताउनुभयो । स्वास्थ्य विमा बोर्डले आफूहरुको बक्यौता रकम भुक्तानी गर्नासाथ सेवा निरन्तर हुने गीरीको भनाइ छ ।
साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गराए मात्र विमा रकम भुक्तानी हुने सरकारको बजेट भाषणमा उल्लेख थियो । यसले गर्दा विमा रकम पाइने नपाइने भन्ने पनि दोधार भएको अस्पताल सञ्चालकहरुले बताएका छन् ।
महिनौं सम्म उपचारको ठूलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा असर पुगेको उनीहरुको भनाइ छ । थप औषधी किन्न,स्वास्थ्यकर्मीको तलव भुक्तानी गर्न र अन्य खर्च धान्न मुस्किल परेको सञ्चालकहरुको गुनासो छ ।
प्राइभेट अस्पतालको खर्चमा सरकारको शाख जोगाइदिनु पर्ने बाध्यता आफूहरुलाई नभएको वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको भनाइ छ । सरकारले विमा सुविधा दिएको छ भन्दै सिफारिस बोकेर आएका न्यून आय भएका सयौं विमारी अलपत्र परेको प्रसाईंले बताउनुभयो । विमा बोर्ड र सरकारसँग अहिलेसम्म्को बक्यौता उठाएपछि दोस्रो चरणमा विमा कार्यक्रमलाई निरन्तरता दिने नदिने छलफल हुने प्रसाईको भनाइ छ । अहिलेलाई हामीले विमा सुविधा स्थगन गरेका छौ प्रसाईले भन्नुभयो ।