काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नो घरमा दुईथरी तरकारी पकाउन सक्ने स्थिति नभएको भन्दै जनताको अवस्था के होला भनेर प्रश्न गर्नुभएको छ ।
मूल्यवृद्धिले जनताको चुलो बल्न नसकेको भन्दै उपमहासचिव ज्ञवालीले आफ्नो घरमा पनि दुईथरी तरकारी पकाउन सक्ने स्थिति नरहेको बताउनु भएको हो ।
आज काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मैले नै घरमा एकथरी तरकारी पाक्नेछ भन्ने सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, सकिंदैन ।’
उपमहासचिव ज्ञवालीले सरकारले मूल्यवृद्धि गराएकाले आम उपभोक्ता मर्कामा परेको बताउनु भयो । वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उहाँको भनाइ छ ।
‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो’, उपमहासचिव ज्ञवालीले भन्नुभयो । आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उहाँले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गर्नुभयो ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन गर्न जरुरी रहेको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।





प्रतिक्रिया