काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान राजनीतिक गठबन्धनभित्र डरलाग्दो वित्तीय गठबन्धन भइरहेको बताउनुभएको छ ।
पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष’ विषयक अन्तरक्रियामा उपमहासचिव ज्ञवालीले भन्नुभयो–सरकार र सिङ्गो अर्थतन्त्र डरलाग्दो गरी विचौलियाको नियन्त्रणमा गएको छ ।
महङ्गी सबैको साझा मुद्दा भएकाले सरकारले सुन्ने गरी आवाज उठाउनु जरूरी भएको र जनदबाब सिर्जना गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
महङ्गी कुनै दल विशेषका मानिसहरूका लागि मात्र नभई यसबाट आम जनसमुदाय आक्रान्त भइरहेको वर्तमान अवस्थामा महङ्गी नियन्त्रणका लागि सरकारमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
आम उपभोक्ता अहिले वस्तुको अभाव, विभिन्न क्षेत्रमा सिण्डिकेट, बजार अनुगमनको अभाव र राज्यको अनुपस्थितिका कारण मर्कामा परिरहेको उहाँले बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘१७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, २० प्रतिशत बहुआयामिक गरिबी झेलिरहेका छन्, यस्तो महङ्गी र चौतर्फी मारमा कसरी जीवन चलिरहेको होला ?’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विकास, सुशासन तथा आर्थिक, सामाजिक क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा त्यस ‘कोर्श’लाई उल्टाउने गरी सरकार परिवर्तनको काम पश्चगामी कदम थियो भन्ने हाम्रो भनाईलाई वर्तमान सरकारका एक वर्षका कामले पुष्टि गरेको छ, उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
उहाँले भन्नुभयो– वर्तमान गठबन्धन सरकार गठन भएयता मुलुकमा कुशासन, चरम बेथिति र संविधान क्षतविक्षत बनाउने काम मात्र भएन, सरकार मुठ्ठीभर विचौलियाको नियन्त्रणमा गएको छ ।
उहाँले उपभोक्ताहरू चौतर्फी मारमा परिरहेको मुद्दालाई दलहरूले आफ्ना एजेण्डामा प्राथमिकतामा राखेर उठाउनुपर्ने भनाई राख्नुभयो ।
अन्तरक्रियामा विभागद्वारा तयार पारिएको २०७८ असार मसान्त र २०७९ असार मसान्तको मूल्यवृद्धिको तुलनात्मक विवरण प्रस्तुत गरिएको थियो ।
विभागका प्रमुख तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा भएको अन्तरक्रियामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभामा पार्टीका प्रमुख सचेतक विशाल भट्टराई उपस्थित हुनुहुन्थ्यो ।
अन्तरक्रियामा विभाग र उपभोक्ता हित संरक्षणसँग सम्वद्ध संस्थाहरूका तर्फबाट कुमारी खरेल र विमला खनालले महङ्गीको तथ्यगत विवरण राख्नुभएको थियो ।





प्रतिक्रिया