काठमाडौं – नेकपा एमालेले चर्को महङ्गीविरूद्ध काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ ।
एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाएको छ। जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन गरिने जनाइएको छ ।
काठमाडौंको वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा पार्टीका उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, उपत्यकाका तीन जिल्लाका पार्टी अध्यक्ष, जनसंगठनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
वर्तमान गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको छ । सरकारले महंगी नियन्त्रण गर्न पहलकदमी लिनेतर्फ कुनै कदम चालेको छैन ।





प्रतिक्रिया