विराटनगर – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा प्रदेश–१ मा भएको अन्तरघातको खोजी अझै मिहिन ढंगले गर्ने भएको छ । त्यसका लागि पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शेरधन राईको संयोजकत्वमा एक कार्यदल बनाएको छ ।
पार्टी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जारी गरेको अन्तर कमिटी निर्देशन अनुसार कार्यदलका अरू सदस्यमा प्रदेशका उपाध्यक्ष टिकाराम चेम्जोङ र संगठन विभागका प्रमुख रामकुमार बस्नेत सदस्य रहनुभएको छ । कार्यदलले एक महीनाभित्र अन्तरघातीको खोजी गरेर पार्टीमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
अन्तरघातका कारण खोज्दा असहयोग, असमझदारी र अन्तरघात के हो स्पष्ट पार्नुपर्ने उल्लेख छ । कार्यदलले नौ वटा अवस्थाको अध्ययन गरेर पार्टीमा प्रतिवेदन बुझाउन भनिएको छ । जसअनुसार पार्टी निर्णय विपरित भिन्न व्यक्तिको नाममा टिकटको दुरुपयोग गरेको छ, बागी बिद्रोही उम्मेदवार बनेको, यस्ता उम्मेदवारको प्रस्तावक समर्थक बसेको विवरण पनि संकलन गर्नुपर्नेछ । यसैगरी कसैलाई बागी बन्न उक्साएको, बागीका पक्षमा प्रचार–प्रसारमा संलग्न भएको आदि विवरण पनि कार्यदलले खोज्नुपर्ने भएको छ । यस्तै पार्टीले तोकेको क्षेत्रमा खटे–नखटेको पनि हेर्नुपर्ने भएको छ । यस्तै उम्मेदवारका विरुद्ध नकारात्मक टिप्पणी गर्दै हिडेको, बागी बनेर बीचमै फर्केको र यस बाहेक अन्तरघातका अन्य कुनै विधि प्रयोग गरेको भए सो पनि उल्लेख गर्नुपर्ने अकनिमा उल्लेख छ ।





प्रतिक्रिया