काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालमाथि शासकहरुले मात्र नभई आफ्नै साथीहरुले पनि ज्यादती गरेको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पलाललाई महासचिवबाट षडयन्त्रपूर्वक तरिकामा हटाएर कम्युनिस्ट आन्दोलन नै कमजोर पार्ने काम भएको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले राणाशासनमा भन्दा पनि कांग्रेसको शासनमा कम्युनिस्टमाथि प्रतिबन्ध लगाइएको स्मरण गर्नुभयो।
‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए,’ ओलीले भन्नुभयो, ‘०८ सालमा उनी प्रधानमन्त्री भएपछि लागेको प्रतिबन्ध ४ वर्षभन्दा बढी लाग्यो। राणाशासन भन्दा कांग्रेसको शासन कम्युनिस्टलाई केही फरक भएन।’
पुष्पलालविरुद्ध सम्भ्रान्त परिवारका ठिटाहरुले ज्यादती गरेको ओलीको भनाइ छ।
‘पुष्पलालमाथि अरु शासकले त ज्यादती गर्थे गर्थे आफ्नै साथीहरुले पनि ज्यादती गरे र पुष्पलालविरुद्ध अरु सम्भ्रान्त ठिटाहरुले पार्टी कब्जा गर्ने नीति लिए,’ ओलीको भनाइ छ , ‘पुष्पलाललाई महासचिवबाट हटाए। पुष्पलालले किन पार्टी खोलेको थिए, कसरी अघि बढाउन खोजेका थिए, त्यो कुरालाई समेत ख्याल नगरी काम गर्न दिइएन।’
०७ सालको आन्दोलन सफल हुने बित्तिकै र पार्टी खुला हुनेबित्तिकै पुष्पलाललाई पार्टीबाट हटाउन सुरु गरिएको उनले बताए।





प्रतिक्रिया