अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक त्रुटिपूर्ण रहेको उपमहासचिव ज्ञवालीको आरोप

नागरिकता विधेयक त्रुटिपूर्ण रहेको उपमहासचिव ज्ञवालीको आरोप


रुपन्देही – नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले संसदबाट पास भएको नागरिकता विद्येयक नागरिकको हितमा नरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले संसदका अधिकारमाथि सरकारले चरम दुरुपयोग गरेर मुलुकलाई उल्टो गतिमा हिंडाएको र नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाउनु भएको हो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सिन्दुर लगाउनसाथ हातमा नागकिरता दिन मिल्ने विद्येयक गलत छ। नागरिकता पाउनका लागि ढोका खुल्ला राख्नुपर्छ तर निश्चित अवधि र अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल गरेर मात्र नागरिता दिनुपर्ने हाम्रो माग हो ।’

नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको उल्लेख गर्दै नागरिकता विद्येयक गलत र देशका लागि घातक रहेको उपमहासचिव ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियताको विषयमा सरकारमा बिचलन आएकाले यसले देशलाई दीर्घकालीन प्रभाव पार्छ ।’

स्थानीय चुनावमा नेकपा एमालेले ३४ प्रतिशत मत ल्याएकाले अहिले यतिखेर तालमेल गर्नुपर्ने आवश्यक्ता नभए पनि वाम तालमेलका लागि एमालेले ढोका खुल्ला राखेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्व सरकारमा बस्ने, चुनावमा गठबन्धन गरेर जानेहरु कम्युनिष्ट हुन सक्दैनन् । कांग्रेसको नेतृत्व सरकारबाट छोडेर आएमात्रै वाम तालमेल वा गठबन्धन हुन सक्छ । एमाले एक्लै पनि चुनाव लड्नसक्ने अवस्थामा छ, तर वाम तालमेलका लागि हामी सधैं ढोका खुला राखेका छौं।’

एमालेको पालामा सवल अर्थतन्त्र रहेको तर अहिले अर्थतन्त्रका सूचकहरु कमजोर भएको उल्लेख गर्दै सरकारका कारण अर्थतन्त्रका आयामहरु संकटमा परेको ज्ञवालीले बताउनु भयो ।