काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताउनु भएको छ ।
नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत नेपाली कांग्रेसलाई साथ दिएको भन्दै नेता श्रेष्ठले गठबन्धनको नाममा सधैं बलजफ्ती स्वीकार्न नसक्ने बताउनु भएको हो ।
‘कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस् ।’ शनिबार दिउँसो फेसबुकमा लेख्नुहुन्छ, ‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन।’
शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकको प्रावधान, अमेरिकी सहयोग परियोजना (एमसीसी) र अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा श्रेष्ठले असहमति जनाउनु भएको छ ।
नागरिकता विधेयकमा माओवादीको अडान नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्छ भन्ने रहेको भन्दै नेता श्रेष्ठले अहिले विधेयक पारितको प्रक्रिया गलत रहेको बताउनु भयो ।
‘यो विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र बैबाहिक अङ्गीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुबै कोणबाट गलत छ,’ उनहाँले भन्नुभएको छ, ‘नागरिकता विधेयक प्रतिनिधिसभाले राज्य व्यवस्था समितिमा पठाएको थियो। समितिले समिति भित्र र बाहिर पनि गम्भीर एवं व्यापक बहस गर्यो।’
एमसीसीलाई राष्ट्रिय हित अनुकुल नभएको भन्दै मतभेद हुँदाहुँदै पनि बाध्यात्मक रुपमा १२ बुँदे घोषणासहित अनुमोदन गरिएको नेता श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरुप ठान्दैन, तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रुपमा १२ बुँदे व्याख्यात्मक घोषणा सहित अनुमोदन गर्यो। अहिले फेरि नागरिकताको बिषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो । एसपिपिको बारेमा अस्विकारको पत्र सरकारले पठाएको छैन। के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त ?’





प्रतिक्रिया