अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुड्ने मिनी अस्पताल !

गुड्ने मिनी अस्पताल !


काठमाडौ -नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।

तर अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन छ छवटा सुविधायुक्त शय्या र साथमा सिसीक्यामेरा ।
उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास लिइएको छ

यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठवटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले जिम्मेवारी पाएको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।
मुख्यतः उक्त फण्डमा अमेरिकी सहयोग नियोग युएसएड, बेलायती सहयोग नियोग एमसिडिओ, क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसनको पैसा परेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले शनिबार नै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको चाबी हस्तान्तरण गर्नुभयो । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछ जनाइएको छ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।

प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपदमा परेका मानिसको अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैमा विदितै छ । कठिन भौगोलिक अवस्थाको कारणले भूकम्प, बाढी र पहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छ ।

कोभिड(१९ जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छ । सरकारसँगको सहमतिअनुसार अशोक लेल्याण्डले उक्त गाडी खरिद गरी सरकारलाई बेचेको हो ।

उक्त गाडीलाई विपद् सामूहिक उद्धार एम्बुलेन्सको नाम दिइएको छ । यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् ।

जीवन बचाउने आधुनिक उपकरण, महत्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सिसीटिभी क्यामेरा छन् । उक्त गाडी एउटाको झण्डै रु १ करोड पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ ।

शनिबार नै प्राधिकरणले अपाङ्गता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले अपाङ्गता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औँल्याउँदै हरेक क्षेत्र उनीहरुका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए । उनीहरुको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए ।

मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोग भइरहेका छन्, तर हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सेवा प्राप्त सवारीसाधन सञ्चालन होला रु हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारी साधनलाई नेपालमा भित्र्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने संशाधनसहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको हो ।

अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछ । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

रासस