भक्तपुर – भक्तपुर सल्लाघारी क्षेत्रमा रहेको रुखहरू काट्न थालिएको छ । पुरानो र कमजोर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू सोमबारदेखि काट्न सुरु गरिएको हो ।
भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाही हरिवन नपा-४ का राजकुमार भुजेलको निधन भएको थियो ।
सल्लाघारीमा सल्लाका पुराना धेरै नै रुख छन् । सरोकारवाला निकायबीच समन्वयपश्चात् त्यस्ता घटना दोहोरिन नदिन रुख काटिएको थालिएको हो । प्रकृति प्रतिकूल नहुने गरी रुखहरु हटाउने सहमतिअनुसार काटिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।
यो भक्तपुरकै एउटा प्रख्यात ठाउँ पनि हो । यो ठाउँलाई स्थानीय नेपाल भाषामा च्वंगा गणेश भनिन्छ । यहाँ च्वंगा गणेश मन्दिर छन् । थुम्कोमा रहेको यो ठाउँ पिकिनिग स्पोर्ट पनि हो । थुम्कोको माथि खुला ठाउँ भएको चारैतिरका भिरालोमा सल्लाका रुखहरू रहेकाले यो ठाउँ आकर्षक छ । यहीकारण यहाँ चलचित्रलगायतका छायांकन गर्न पनि हुने गरेको छ ।





प्रतिक्रिया