अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति


दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ ।

सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ। चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताउनुभयो । फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो ।

दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दे आएको थियो । फार्मको एक भागमासाना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठू्लो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उहाँले बताउनुभयो । चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिइ तार जालीमा ठोक्किएर मरेको पाइएको छ ।

फार्मभित्र चितुवाका कारण  करिब रु.४० लाखभन्दा बढीको क्षति भएको छ । कालिजप्रति गोटा तीनहजार ५०० देखि चार हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्नका लागि राखिएका कालिज मर्दा करिब रु.४० लाखदेखि ४५ लाख मूल्य बराबरको क्षति पुगेको सञ्चालक शेर्पाले उल्लेख गर्नुभयो ।

 चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उहाँको भनाइ थियो । फार्मका मजदूरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो । घाइते चितुवालाई आज बिहान काठमाडौँबाट आएको टोलीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजेपनी नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर  नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताउनुभयो ।