अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा बोल्न लाग्दा- ‘नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार’ भन्दै नाराबाजी

प्रधानमन्त्री देउवा बोल्न लाग्दा- ‘नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार’ भन्दै नाराबाजी


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा विवादित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै एक युवाले नाराबाजी गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रियसभामा विचार गरियोस् भनेर प्रस्ताव भइरहेका बेला सोमबार राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा एक युवा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाएर विरोधमा उत्रिएका हुन् ।

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर माथिल्लो सदनमा सोमबार छलफल भएलगत्तै देउवाले विरोधको स्वर सहनु परेको हो।

उक्त कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि प्रधानमन्त्री देउवालाई उद्घोषकले मञ्चमा बोलाएका थिए ।

प्रधानमन्त्री देउवा मञ्चबाट पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट ‘नागरिकता विधेयक खारेज गर, खारेज गरु भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी गरेका थिए ।

नागरिकता विधेयकविरुद्ध नाराबाजी गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिएर बाहिर निकालेका थिए । तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरुद्ध नारा लगाइरहे।